Tuesday, June 7, 2011

Kabita 9

मैले हजुरलाई हरियो सुगाको प्वाँखसँगै
पठाइदिएको थिएँ
दैलेखी चिसोचिसो बतास
जो मर्ुछा परेको छ ठोक्किएर
नरिवलको अग्लो रुखजस्तो
बिजुलीको खम्बामा

मेरी हजुर !
मैले बगाइदिएको थिएँ नीलो भेरी त्यतैतिर
उँधोउँधो,
फोर्दै चुलीमा हिउँका डल्लाहरू
पानीसँगै पठाएको थिएँ
लज्जावती झारको लाज
हजुरसम्म पुग्दा त
लेदो भएछ - डुङ्डुङ्ती गन्हाउने ।

पठाएको थिएँ
चराको छन्दोबद्ध आवाज
हराएछ - चर्काचर्का हर्नहरूमा,
जैतुनको तेलको मीठो सुगन्ध
बद्लिएछ - मृतपोखरीको गन्धमा

हजुर कहाँ
म के पठाउँ, कोसेली
मेरी हजुर
म सुदूर पहाडको रजौटो
हजुर त सहरकी राजकुमारी
मसँग छन्
निगालोका सलक्क परेका बोटहरू
त्यही चञ्चल जुरेलीको यौवन,
रगतभन्दा शुद्ध झरनाहरू
त्यही सुटुक्क नुहाउने जूनरानी,
हजुरका गालाजस्ता टम्म मिलेका पाखाहरू
त्यहीँ अडेश लागेको सुनौलो क्षितिज,
झ्याउँकीरीको देउडा
निधार छोएर भाग्ने कुहिरो
हजुरबाको थोते मुस्कानजस्तो
सुनको जलप लिएर आउने बिहान,
हजुरआमाको गहिरो आँखाको चमकजस्तो
मीठो सपना छोडेर जाने साँझ
पटुकीजस्तो टपक्क मिलेको जीवनको छन्द,

हजुर कहाँ त छन्-
तलातला परेका चिहानहरू
साँघुरिएका धुरीहरू र सम्बन्धहरू
गुजुल्टिएका बिजुलीका तारजस्तो
अल्भिmएका सासहरु.... आवाजहरू
शुद्ध दूध गुमाएका नानीहरू
अनुहार हराएका आमाहरू
सिमेन्ट बग्ने ढुङ्गेधाराहरू... काकाकुल जीवनहरू
घर्ुर्मेलो क्षितिज... कैदी जून
घरैघर घरैघर
पहेंलिएका रगतहरू
आँखा छोप्ने धूवाँका हुस्सुहरू
मिल्दै नमिलेको जीवनको छन्द,

हजुरको आकाश यतिबेला
साँझपख
सुत्केरीको पेटीकोटजस्तो टाटैटाटा भरिएको
उध्रिएको होला,
मेरो आकाश त
हजुरकै मीठो मुस्कानजस्तो
हजुरकै फर्फाइरहने पछ्यौराजस्तो
कोमल अनि कलेजी छ,

माफ पाउँ,
मेरी हजुर अहिलेलाई यत्ति
ऊ... भेडाको हूल पनि फर्की पो सकेछन् ।

No comments:

Post a Comment