Tuesday, June 7, 2011

Kabita 2

घरघर झगडा यो,आज कल्ले गरायो
किन पलभरमै त्यो,भाइचारा हरायो?
तनमन  वनपाखा, हेर देशै  उदासी
दिन दिन किन लड्छौ,भाइ नेपलवासी?
                   
डमडम कुहिरोले, जून आकाश  ढाक्दा
धुरुधुरु मन मेरो, रुन्छ तारा न हांस्दा।
विमल गगन हो यो,  देश नेपाल मेरो
जन जति सब तारा, जून पाहाड मेरो ।।
                   
सब जग तिर रातै,  रक्तको भेल बग्दा
थररर मुटु काँप्यो,लौ न यी भाइ मर्दा ।
डुडुडुडु  बमगोला , पड्किएको छ ब्यर्थ
यति भलभल बग्ने, रक्तको खै त अर्थ??                       
                 

जव जव  धरतीमा,  युद्दको बास हुन्छ
सब झलमल बल्ने ,सृस्टिको नास हुन्छ।
अब बल न गरौं हे,  युद्दको पार  हुन्न
जन सब न रहे यो, क्रन्तिको सार हुन्न।।
                  ५
पल पल न मगाऊँ,  सर्प गोला विदेशी
भलभल  न बगाऊँ,  रक्त तातो स्वदेशी।
खलबल न  बनाऊँ,  शान्त नेपाल हाम्रो
डगमग  न  डगाऊँ,  राष्ट्रको शान हाम्रो।।
                 
खलखल पसिनाको, मूल ठूलो फुटाऊँ
नवनव  रचनामा,  शक्ति सारा जुटाऊँ।
परभर  न परौं है, भूमि आफै सजाऊँ
अलमल न गरौं है, राष्ट्र आजै  बचाऊँ।।
 
सँगसँग रथ हाँकौं, लक्ष्य सोझै पुगिन्छ
दलदल भुवँरीमा,  नत्र  छिट्टै  डुबिन्छ ।
अब समय न टारौं, द्वन्द आगो न पालौं  
अझ पनि छ नि वेला,शन्तिको दीप बालौं।।

No comments:

Post a Comment