Tuesday, June 7, 2011

किवदन्ती

मेरी सानी नातिनी
निन्द्रासँग लडिबुडी गर्नु अगाडि
कथा सुनाउन ढिपी गर्छे सधै मलाई
मैले उसलाई
एकादेशबाट थालनी गरेर
बूढो बाघको कथा सुनाएछु
एकादेशको जङ्गलमा
एउटा बूढो बाघ थियो
ऊ निक्कै बलियो थियो
आफ्नो बलमा घमन्ड गथ्र्यो ऊ
आहारा बनाउँथ्यो
छिमेकी गाउँलाई .....
एकदिन
आफूजस्तै बाघ
पोखरीमा देखेर
झम्टन हामफाल्यो शत्रु भनेर
आफ्नै छायालाई
मेरी नातिनी
औधी उत्सुक भएर सोध्छे
अनि नि हजुर बा ! के भयो -
म भन्छु-घमण्डी बाघ डुबेर मर्‍यो
मेरी सानी नातिनी
सिरकसँग लुटपुटिएर
खित्का छाडेर हाँस्छे
अर्को कथा सुन्न तम्सन्छे अनि

आफ्नै छोरो प्रहृलादलाई
मृत्युदण्ड दिन लागिपर्ने
सहोदर बाबु हिरण्डयकश्यपुको कथा सुनाउँछु
नाबालक रगतको डल्लालाई
भित्तामा पछार्ने
कंश मामाको कथा सुनाउँछु
लामो तपस्या गरेर
शिवबाट वरदान पाई
उनैलाई भष्म पार्न लखेटने
भस्मासुरको कथा सुनाउँछु
ठिही ओढेर सुतेको रातमा
म उदाङ्ग पारेर राख्दै जान्छु कथाहरू
नातिका पोल्टाभरि

No comments:

Post a Comment